
तातोखबर सम्वाददाता
काठमाडौं, जेष्ठ ११ / विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आफ्नो पदबाट राजनीमा दिएका छन् । बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै आफू अध्यक्षको पदमा नरने तर पार्टीको साधारण सदस्य भने रहने गरी राजीनामा दिएको व्यहोरा सार्वजनिक गरेका गरेका हुन् ।
अध्यक्ष मिश्रले आफ्नो नेतृत्वमा रहेको विवेकशीला साझा पार्टीले २०७९ सालको स्थानीय निर्वाचनमो आमरूपमा उत्साहजनक परिणाम ल्याउन नसकेको कारण देखाएर राजनामा दिएको स्वीकार गरेका छन् ।
गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी उल्लेख गरिएको छ । उनले आफू पार्टीको साधारण सदस्य भने रहिरहने बताएका छन् ।
जारी विज्ञप्तिमा अगाडि भनिएको छ ‘हाम्रा उम्मेदवारहरू ‘इमानदार र सक्षम’ हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ । बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ । मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’
गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि अलिकति पनि विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, आर्थिक, नैतिक र भौतिक रूपमा पार्टीलाई सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई पनि उनले प्रशंसा गरेका छन् । अध्यक्ष मिश्रले भनेका छन् ‘तपाईँहरूप्रतिको श्रद्धाभाव शब्दमा व्यक्त गर्न सक्दिन । तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु ।’
विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेको भन्दै त्यो पार्टीलाई दिएको देन भएको र विवेकशील साझा पार्टीले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण सम्भव नहुने पनि अध्यक्ष मिश्रले बताएका छन् ।
‘विचारभन्दा माथि देश’ हुने धारणा राख्दै आएका विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई–तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको स्मरण गर्दै सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन पनि उनले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई अनुरोध गरेका छन् । सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिएका नेताहरुलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह उनले सोही विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।
पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने नै विश्वास ब्यक्त गर्दै आफ्नो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच आफूबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति अध्यक्ष मिश्रले निःसङ्कोच क्षमा याचना गरेका छन् । विज्ञप्तिको अन्त्यमाउनले भनेका छन् ‘पार्टीको साख केन्द्रीय समितिका साथीहरूको नेतृत्वमा पुनस्र्थापित हुने विश्वास लिएको छु । सो प्रयासमा मेरो पूर्ण सहयोग रहने छ ।’