सांसदलाई स्वदेशी कपडा उत्पादनमा जोड दिन सुझाव

तातोखबर 2018-03-17 11:18:40 आर्थिक

    काठमाडौं, चैत ३ / बढ्दो विदेशी आयातलाई निरुत्साहित गर्नका लागि उद्योग तथा बाणिज्य संघका अधिकारीहरुले प्रतिनिधि सभा र प्रदेशसभाका सांसदहरुलाई सुझाव दिएका छन् । ललितपुर जिल्लाका कपडा उद्योगमा संलग्न व्यवसायीहरुले स्वदेशी उत्पादनलाई उच्च प्राथमिकता दिएर राज्यको ऐन तथा नीति निर्माण गर्न यस्तो सुझाव दिएका हुन् । 
     शुक्रवार ललितपुर जिल्लाको लुभु बाँडेगाउँका कपडा व्यवसायी संघले स्थानीय टिकाथलीमा एक साक्षात्कार कार्यक्रमको आयोजना गरी सांसदहरुसँग नेपाली कपडाले विदेशबाट आयात भएका कपडासँग प्रतिष्पर्धा गर्न गाह्रो भएको भन्दै स्वदेशी उत्पादनमा राज्यले महत्व दिएर विदेशबाट हुने आयात न्युनिकरण गर्ने अभियान थाल्न माग समेत गरे । 
    स्वदेशी वस्तुको उपयोग नगर्ने चलनले गर्दा कपडा उद्योगसमेत समस्याग्रस्त बनेको र परम्परागतरुपमा कपडा बुन्ने उद्योग सञ्चालन भएकामा अहिले बस्ती घना हुँदा व्यवसायीलाई गाह्रो भएको गुनासो स्थानीय कपडा उद्यमीहरुको थियो । ललितपुर उद्योग वाणिज्य संघ २ नं क्षेत्रीय अध्यक्ष जुजुकाजी महर्जनले कपडा उद्योगको राम्रो सम्भावना भएकाले यसको स्थापना, सञ्चालन र बजारका लागि संसद्को सहयोगको खाँचो छ औंल्याए ।
    स्थानीय व्यवसायी सुशील श्रेष्ठले जिल्लालाई कपडा उद्योगको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । सांसद पम्फा भुसालले जिल्लाको मात्रै नभएर देशको आर्थिक विकासमा कपडा उद्योगले भूमिका खेल्न सक्ने अभिब्यक्ति दिईन् । सांसद कृष्णलाल महर्जनले भन्सारमा कपडाभन्दा धागोमा कर बढी तिर्नुपर्ने हुँदा व्यवसायीले सस्तो मूल्यमा कपडा बनाउन नसक्ने बताए । सांसद नवराज सिलवालले व्यवसायले दिने रोजगारी र कर नै मुलुकका लागि ठूलो योगदान हुने धारणा ब्यक्त गरे । कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभामा ललितपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले कपडा उद्योगको समस्या समाधानका लागि लाग्ने प्रतिबद्धता जनाएका थिए । 
 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook